Wednesday 24 June 2020

बिवाह प्रस्ताव (लघुकथा)

जुन २२, २०२०
सञ्जय शान्ति सुवेदी



सामुदायिक अस्पतालमा कार्यरत २२ वर्षे शकुन्तला त्यहाँका डाक्टर, कर्मचारी एवं सम्पूर्ण स्थानीय बिरामीहरुकाे लागि परिचित नाम थियाे । बिहेका प्रस्ताव दैनदिन  आउनु स्वाभाविक नै थियो भने उनलाई मनपराउने र तिनका अभिभावक त शकुन्तलाको चालचलन बुझ्न अस्पतालमै पनि आउँथे । "सिस्टर, डा. शर्माकाे क्लिनिक रुम कता होला नि?" धाेत्राे स्वरमा कसैले साध्याे । "अङ्कल, ऊ त्याे दाहिने पट्टीको अन्तिम काेठा हाे ।" आफुलाई अङ्कल भनेको मन नपरे झैं गरेर कालो अनुहार बनाउँदै ऊ डाक्टर शर्माकाे कोठातिर लाग्याे । काम सकेर घर पुग्दा पाउनाहरु आइसकेका थिए ।  केटाकेटी देखादेख गराउन । शकुन्तलालाई देखाउँदै लमीले भन्यो उहाँ अमेरिकाको ग्रिनकार्ड हाेल्डर हाे, आफ्नै डिपार्टमेन्ट स्टाेर पनि छ, परिपक्व हुनुहुन्छ, बिहे गर्न नेपाल आउनुभएको....भन्दा नभन्दै शकुन्तलाले रोकेर भनी उहाँलाई त कता-कता देखे जस्तो लाग्याे नि । केटोले हसिलाे अनुहार बनाई उत्तर दियो तिमीले काम गर्ने अस्पतालको डा. शर्मा मेरो साथी हो, बिहान हाम्राे भेट भएकाेको बिर्सियाै ?

बाँझोपना (लघुकथा)

जुन १२, २०२०
सञ्जय शान्ति सुवेदी




   
काखको एउटा छोरो र हुर्कँदै गरेका दुई छोरा छोडेर श्रीमती पोइला गए पछि कार्की दाइले दोस्रो बिहे गरेँ । सानै देखि स्नेहपूर्ण भाव र ममताले हुर्काएकी कर्कीनीले कहिल्यै पनि सौताको प्रतिबिम्ब सन्तानमा पर्न दिइनन् । आफुले बिहे नगरिञ्जेल छोराहरु पनि आमालाई माया गरिरहे । 
घरमा बुहारी भित्रिएपछि धेरै कुराहरु सुनिए । छुट्टिभिन्नका कुरा उठे । कुरो कहिले सेलाल्थ्यो, कहिले चर्को बन्थ्यो । एक दिन समाजै बटुल्नपर्ने स्थिति समेत निस्क्यो । 
अंशवण्डाका दिन जेठी बुहारी चिप्लो कुरा गर्दै थिईन् । त्यतिनै बेला अलिक अगाडि आएर  माइलीले बोली, "प्रशववेदना नभोगेका आइमायीलाई के थाहा ।"  कञ्चटमा हात लगाएर बसेका कार्कीको समीपमै बसेकी कर्कीनी छाँगाबाट खसेजस्तै भइन् । उनले थुक घुटुक्क निल्दैे भनिन्, "तिमीहरुले प्रशव पीडा त बुझेछौ तर बाँझो हुनुको पीडा बुझ्न सकेनौ ।"

सुहाग रात (लघुकथा)

जुन २३, २०२०
सञ्जय शान्ति सुवेदी



लजालु स्वभावकाे देवराज र बैँशालु राधिका बिहेकाे रात सुत्नुअघि त्यस घडीलाई एक आपसमा सहज महसुस गराउन प्रयास गरिरहेका थिए । देवराज स्वभावैले धेरै खुल्न नसक्ने, राधिका गाल पर्ला भनेर साेझी दरिन खाेज्दै थिईन् । उसकाे समीपमै देवराज आएर बस्दा, दुबैकाे धड्कनले ढाेल पिटिरहेकाे थियाे । अन्तत: देवराजले आफ्नाे मस्तिष्कलाई मनले जितेर राधिकालाई सुम्सुम्याउन थाल्याे । मनका अतृप्त मनाेकामनाकाे बाँध फुटेर राधिकाले भावबिह्वल भई अश्रुधारा बगाउँदै रुञ्चे स्वरमा भनिन् "आई लभ यु खगराज ।" देवराज पनि राेइरह्याे । 

Candlelight Vigil in Aotea Square to honour plane crash Victims in Nepal

Auckland, January 17, 2023 A group of Nepalese youth in Auckland has organized a Candlelight Vigil at the Aotea Square yesterday to honour t...